स्वावलम्बन विकास केन्द्र

लघुवित्तका सफल अभ्यास अनुशरणको लागि आन्तरिक अवलोकन भ्रमण

नेपालमा आधुनिक लघुवित्तको शुरुवात भएको करिब ३ दशक पुरा भएको छ । यो अवधिमा नेपालमा लघुवित्त कार्यक्रमले धेरै ठूलो फड्को मारेको छ । लघुवित्त सञ्चालनमा धेरै अनुभव, अनुभूति तथा सफलताहरु हासिल भएका छन् । नयाँ नयाँ प्रयोग र कार्यक्रमहरु अभ्यासमा आएका छन् । अब देश भित्रै पनि एक अर्कोबाट सिक्ने आधार बनेका छन् ।  यही तथ्यलाई मध्यनजर गरी स्वावलम्बन विकास केन्द्रले विगत देखिनै आन्तरिक अध्ययन अवलोकन भ्रमणको आयोजना गर्दै आएको छ । फिल्ड स्तरमा गएर लघुवित्त ग्राहक सदस्यका उद्यम तथा लघुवित्त संस्थाका परियोजनाहरूको अवलोकन गर्ने र तिनबाट सिक्ने कुरा धेरै प्रभावकारी हुदैँ गएको पाइएको छ । जस अनुसार पछिल्लो पटक २०७९ साल माघ ०८ देखि १४ सम्म पूर्वी नेपालका लघुवित्त संस्थाहरुले गरेका असल अभ्यासहरूको अध्ययन अवलोकन गर्न पश्चिम नेपालका लघुवित्त संस्थाहरुको उच्चस्तरीय अध्ययन अवलोकन भ्रमण, West Meets East  कार्यक्रम आयोजना गरेको थियो ।

लघुवित्त संस्थाको प्रबन्ध समितिका प्रतिनिधि, कार्यकारी प्रमुख र तथा उच्च अधिकारीहरुको सहभागिता हुने गरी आयोजना गरेको उक्त उच्चस्तरीय भ्रमणमा मधेश प्रदेशको महुली लघुवित्त वित्तीय संस्था लि. लगायत बाग्मती प्रदेश र सो भन्दा पश्चिमका ८ वटा लघुवित्त तथा सहकारी संस्थाका १३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

भ्रमणको शुरुवात मधेश प्रदेशमा रहेका महुली लघुवित्त वित्तीय संस्था लि. तथा श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.का ग्राहक सदस्य तथा संस्थाका परियोजनाहरूको अवलोकन गरेर भएको थियो । भ्रमण टोलीले सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिकाको पुर्नवासमा खेलौना व्यवसाय गर्दै आउनु भएकी रनमाया तामाङको व्यवसायबारे जानकारी लिएको थियो । रनमायाले महुली लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर नौ थरी खेलौना र ५ थरी मुढाहरु बनाउनु हुन्छ । यसमा उहाँले अरु महिला हरुलाई पनि तालिम दिनु हुन्छ ।

भ्रमण टोलीले उदयपुर जिल्लाको बेलका नगरपालिका ५, डाँडागाऊ स्थित श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.को उन्नती श्रृजनशील महिला केन्द्रका ग्राहक सदस्य शान्तमाया थापा मगरको बंगुरपालन व्यवसाय अवलोकन गरेको थियो । आठ वर्ष अघि ५ हजार रुपैयाँ ऋण लिएर बंगुरपालन शुरु गर्नु भएकी शान्तमाया सँग अहिले बंगुर मात्र ६१ बटा छन् । यसको साथै उहाँले बाख्रा, टर्की लगायत विभिन्न प्रजातिका कुखुरा पनि पाल्नु भएको छ । भ्रमण टोलीले शान्तमाया र उहाँको केन्द्रका सदस्यहरु सीत पनि छलफल गरेको थियो ।

सोही दिन भ्रमण टोलीले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण ४, भेडीयामा महुली लघुवित्तले घरविहीन एवं अति विपन्न मुसहर र ऋषीदेव समुदायको लागी यूएनह्याविट्याट सँगको सहकार्यमा बनाएको एकीकृत नमुना वस्ती अवलोकन गरी स्थानीय र कर्मचारीहरु संग छलफल गरेको थियो । नमुना बस्तीमा खानेपानी, चर्पी, खेल्ने आगन, करेसाबारी लगायत सबै जसो आधारभुत सुविधाहरु छन् । नमुना बस्तीका बालवालिकाहरुलाई शिक्षाको प्रबन्ध मिलाउने योजना पनि रहेको छ । साथै लघुवित्त कार्यक्रम तर्फ दुईवटा समुह गठन गरी उनीहरुलाई कर्जा प्रवाह गर्ने र उद्यमी बनाउने लक्ष रहेको छ । जसको लागि बाँसका सामाग्रीबाट नाङ्लो, मुढा, डालो लगायत अन्य विभिन्न सामाग्री बनाउने १० दिने तालिम पनि प्रदान गरेको छ । भ्रमण टोलीले महुली बजारमा रहेको नयाँ बस्तीमा वाँसका सामान उत्पादन र संकलन गरिरहेको केन्द्रका महिला उद्यमीसँग पनि छलफल गरेको थियो । यो केन्द्रका सदस्यहरुले नाङ्ला र मुढाको उत्पादन र संकलन गरी जिल्ला बाहिर निर्यात गर्ने गरेको छ । स्थानीय स्तरमा प्रशस्तै बाँस पाउने हुँदा सप्तरीको भेडीया, नयाँबस्ती लगायत क्षेत्रहरु बाँसका सामाग्री उत्पादनको लागि प्रख्यात छन् । यहाँको स्थानीयहरु सँग बाँसका सामाग्री बनाउने परम्परागत सीप पनि छ ।

भ्रमण टोलीले नेरुडे लघुवित्त वित्तीय संस्थाको धरान शाखाका सदस्यको दन्तकालीमा रहेको गाईपालन र श्याम चोकमा रहेको कुखुरा पालन र ड्रयागनफू्रट खेतीको पनि अवलोकन गरी त्यसमा उद्यमी सदस्यले अपनाएको तौर तरिकाबारे जानकारी लिएको थियो ।

भ्रमणको क्रममा टोलीले ग्राहक संरक्षण कोष तथा सामाजिक उत्तरदायित्व कोष अन्तर्गत जीवन विकासले गरेका विभिन्न कृयाकलापहरुको अवलोकन गरेको थियो । जसमा सदस्यका छोराछोरीलाई लक्षित गरी मन्टेश्वरी विधिबाट सञ्चालन गरेको बाल शिक्षा, सस्तो र सुलभ ढंगबाट गुणस्तरीय शिक्षा दिन स्थापना गरेको विद्यालय र स्वास्थ्य सेवा प्रवाह गर्न निर्माणाधीन अस्पतालको पनि अवलोकन गरेको थियो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अति विपन्न समुदायको लागि घरवासको व्यवस्था, किशोरी शिक्षा, तीन शून्य क्लबको गठन र प्रवद्र्धधन लगायतका कार्यहरू पनि गर्दै आएको छ । यस्ता गैर वित्तीय सेवाहरु प्रवाह गर्न जीवन विकास समाज तथा अन्य गैरसरकारी संस्था र सरोकारवालाहरु सँग सहकार्य गर्दै आएको छ । वित्तीय कार्यक्रम तर्फ जीवन विकासले साधारण ऋण बाहेक ऊर्जा ऋण, घरेलु स्वरोजगार ऋण, प्रविधि ऋण तथा मानव एटीएम जस्ता समय सापेक्ष र लक्षित समुहको आवश्यकता अनुसार कार्यक्रमहरु सञ्चालन गरेको छ । केन्द्र बैठक १५ दिनमा गर्ने गरेको जीवन विकासले फिल्ड स्तरका कर्मचारी र ग्राहक सदस्य बिचको सम्बन्ध सुमधुर राख्ने नीति लिएको छ ।

जीवन विकासले आफ्नो डिजिटल सफ्टवेयर विकास गरेर सबै जसो क्रियाकलाप डिजिटल माध्यमबाट सम्पादन र सञ्चालन गर्दै आएको छ । जीपीएस माध्यमबाट संस्थाको आफ्नो कार्यक्षेत्र, शाखा, केन्द्रहरु तथा केन्द्र बैठक र फिल्ड स्तरका कर्मचारी बारे सूचना तथा जानकारी राख्ने गरेको छ । यसको साथै कर्मचारीको मुल्यांकन, फिल्ड स्तरमा कर्मचारीसँग भएका सूचना संकलन तथा अभिलेख राख्ने जस्ता कार्यहरु पनि अनलाइन माध्यमबाट गर्दै आएको छ । फिल्ड स्तरमा संकलन गरेका सूचना तथा जानकारी र अन्य कार्यहरुबारेको विवरण अनलाइन माध्यम बाटै केन्द्रिय कार्यालय सम्म पुग्दा त्यसको लागि खर्च गर्नु पर्ने समयको साथै, आर्थिक भार एवं मेहनत पनि कम भएको छ । साथै एप वाट अनलाइन गुनासो सुनुवाइ प्रणालीको पनि विकास गरेको छ ।

भ्रमण टोलीले जीवन विकासको विराटनगर रानी केन्द्र अन्तर्गत मानव एटीएमबारे जानकारी लिएको थियो । यहाँ एक जना स्थानीय डिजिटल सदस्य खडा गरेर मानव एटीएम सेवा पनि शुरु गरेको छ । मानव एटीएमले ग्राहक सदस्यसँग आफ्नो खाताबाट हातोहात पैसाको लेनदेन गर्छ भने आफुले संस्था सँग अनलाइन कारोबार गर्छ । मानव एटीएम सेवा प्रदान गर्ने डिजिटल सदस्यले अन्य ग्राहक सदस्यहरुले बचत गर्न, किस्ता तिर्न, आफ्नो बचत बाट चाहेको रकम झिक्न र सदस्यहरुको टेलिभिजन, विद्युत, पानी जस्तो विल तिरी दिन पनि सघाउँछन् । डिजिटल सदस्यले ऋणी सदस्यको मोबाइल नम्बरको माध्यमबाट खातामा हेरेर बाकी बक्यौता अनुसार उसैको खातामा उसैको नामबाट रकम जम्मा गरिदिन्छन् । एटीएम सेवा प्रदान गरे वापत डिजिटल सदस्यले कुल कारोबारको ०.६ प्रतिशत सेवा शुल्क पाउँछन । यसवाट डिजिटल सदस्यले महिनामा १ लाख सम्म आम्दानी गर्न सफल भएका छन् । संस्थामा हरेक पटक डिजिटल सदस्यले गर्ने कारोबारको अभिलेख रहन्छ । साथै सदस्यको खाता र उसको मोबाइलमा आउने एक पटक प्रयोग गर्न मिल्ने पासवर्डको आधारमा मात्र कारोबार गर्न मिल्छ । यसकारण यो अभ्यास कम खर्चिलो र छिटोछरितो हुनुको साथै सुरक्षित पनि रहेको छ र यसतर्फ सदस्यहरुको आकर्षण पनि बढ्दो छ ।

भ्रमण टोलीले झापा जिल्लामा नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का परियोजना र सदस्यका उद्यमहरु पनि अवलोकन गरेको थियो । सहारा साकोसले पनि वित्तीय कार्यक्रमसँगै आफ्ना ग्राहक सदस्यको लागि गैरवित्तीय कार्यक्रमहरुमा जोड दिएको छ । जस अन्तर्गत ग्राहक सदस्यका सन्तानको लागि शिक्षा तथा परिवारका सदस्यहरुको लागि स्वास्थ्य सेवा प्रदान गरेको छ । जन्म देखि मृत्यु सम्म सहारा साथसाथै भन्ने मान्यता अनुसार सदस्य सुत्केरी हुँदा देखि मृत्यु पछि सम्म विभिन्न सेवा सुविधाहरु ल्याएर ग्राहक संरक्षणको काम गरेको छ । सहाराले आफ्ना सदस्यहरुको उद्यम व्यवसाय प्रवद्र्धधनको लागि उद्यमशीलता विकास विभाग खडा गरी प्राविधिकहरु खटाएको छ । जसमा पशु चिकित्सक तथा जेटीअहरु छन् । यसबाहेक सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहारा नेपालले निकै ख्याति कमाएको छ । जस अन्तर्गत गरीब तथा अति विपन्नहरुको लागि वस्ति निर्माण, सर्प दंश उपचार केन्द्र, कोरोना उपचार केन्द्र तथा परीक्षण ल्याबको स्थापना, बुढापाकाको लागि जेष्ठ नागरिक चौतारी लगायतका कार्यक्रमहरु निकै सफल र लोकप्रीय छन् ।

सहारा नेपाल साकोसले उद्यमशीलता विकासको साथै सदस्यको उत्पादन बढाउनु र त्यसको बजारीकरण र मूल्यश्रृंखला वृद्धिमा पनि जोड दिएको छ । यसको लागि मासु, मह, र दूधजन्य उत्पादनमा झापा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष सहित बाख्रा तथा पशु र माहुरी पालनको लागि जिल्लाका केही स्थानहरुलाई पकेट क्षेत्रका रुपमा पहिचान गरी सदस्यहरुलाई सीप र ज्ञानको साथै प्राविधिक तथा चिकित्सा सेवा समेत प्रदान गरेको छ । साथै सदस्यले गरेको उत्पादन बिक्री वितरण गर्न पनि ग्राहक सदस्य मार्फत बिक्री वितरण केन्द्र सञ्चालन गर्न सहयोग गरेको छ । ग्राहक सदस्यको मह तथा दूधजन्य पदार्थको प्रशोधन, ब्राण्डीङ र प्याकेजिङमा पनि सघाएको छ ।

टोलीले भ्रमण गरिएका संस्थाको शाखा कार्यालयमा गएर शाखाको वित्तीय अवस्थाबारे पनि कर्मचारीहरु सँग छलफल गरेको थियो । यस क्रममा फिल्ड स्तरमा भएका कृयाकलाप कार्यशैली तथा वर्तमान अवस्था बारे जानकारी लिएको थियो र यसै गरी सबै संस्थाको उच्च व्यवस्थापन तथा सञ्चालकहरु संग अन्तरकृया गरी सो संस्थाको वर्तमान वित्तीय र गैरवित्तीय कार्यक्रमको अवस्था, कार्यशैली तथा अनुभव आदान प्रदान गरेको थियो । भ्रमणको समीक्षाको क्रममा टोलीका सदस्यहरुले भ्रमणले लघुवित्तको पछिल्लो अवस्थाबारे अवगत हुन र यस क्षेत्रमा लघुवित्तबाट अभ्यासमा आएका नयाँ उद्यम, परियोजना तथा सफल कार्यशैली बारे सिकाई भएको र यहाँ सिकेको ज्ञान आफ्नो संस्थाको काममा पनि अनुशरण गर्ने धारणा राखेका थिए ।

भ्रमणमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.का सञ्चालक उमा बोहरा, तथा प्रमुख कार्यकारी अधिकत नरेन्द्र सिंह विष्ट, उपकार लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष शान्ती ढकाल र प्रुमख कार्यकारी अधिकृत शारदा पोख्रेल,  धौलागिरी लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष ईश्वरलाल राजभण्डारी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी, किसान बहुउद्देश्यीय सहकारी संस्था लि.का सञ्चालक सरोज कुमार शाह र विभागीय प्रमुख रण बहादुर साउद, महुली लघुवित्त वित्तीय संस्था लि.का सञ्चालक श्रीप्रसाद चौधरी र सहायक प्रबन्धक रुसियन चौधरी र मानुषी लघुवित्त वित्तीय संस्था लि.का प्रबन्धक कमल श्रेष्ठ रहनु भएको थियो ।

टोलीले भ्रमण अवधिमा भएका सिकाईलाई आफ्नो संस्थामा अनुशरण गर्नु पर्ने गरी १३ बुँदे मार्गचित्र तय गरेको छ ।

अध्ययन अवलोकन भ्रमण कार्यक्रमका सहभागीहरुबाट तय गरिएको मार्ग चित्र
१)  प्रत्येक शाखामा कर्मचारीहरुको विवरण फोटो सहित अद्यावधिक राख्ने ।
२)  संस्थाको नीति, कार्यविधिलाई पीडीएफ फाइल बनाई आआफ्नो कोर बैंकीङ सिस्टममा राख्ने ।
३)  क्रमशः सबै शाखामा सिसिटीभी क्यामेराको ब्यवस्था गर्ने, र बायो मेट्रिक हाजिरी मेसिन राख्ने ।
४)  पीपीआई (गरीवी मापन विधि) लाई तदारुकताका साथ कार्यान्वयन गर्ने ।
५)  कोर बैंकिङ्ग पद्धतिको माध्यमबाट उत्कृष्ट कर्मचारीको मुल्याङ्कन गर्ने नीति बनाई प्रत्येक ३ महिनामा ३ जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
६)  केन्द्र बैठक गर्ने स्थानलाई जीपीएस प्रणालीमा राखी आआफ्नो कोर बैंकीङ सिस्टममा अपलोड गर्ने ।
७)  ३शून्य क्लब गठनमा जोड दिने ।
८)  उद्यमशिलता विकासलाई अभियानको रुपमा सञ्चालन गर्ने ।
९)  व्यवसाय अनुसारको समुह गठन गरी प्राविधिक तथा आर्थिक सहजीकरण गर्ने ।
१०) गुनासो सुनुवाई निकाय खडा गर्ने र सिस्टममा अद्यावधिक हुने ब्यवस्था मिलाउने ।
११) वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमलाई प्राथमिकतामा राखी सञ्चालन गर्ने ।
१२) कर्जा विश्लेषण र सदुपयोगिता जाँचलाई अनलाइन सिस्टम वा म्यानुअल मार्फत प्रभावकारी बनाउने ।
१३) लघुवित्त विरुद्धको संघर्ष समितिले उठाई राखेको विषयलाई आआफ्नो कार्य क्षेत्रमा आफ्नो तहबाट आवश्यकता अनुसार सम्बोधन गर्ने ।

समाचार

सुचना