स्वावलम्बन विकास केन्द्र

बिवेकशील नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

लघुवित्त एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूको नेतृत्व विकासका लागि दुई दिने बिवेकशील नेतृत्व विकास तालिमको आयोजना गरिएको छ । कोरोना महामारी र लकडाउनको कारण विगत दुई बर्ष देखि लघुवित्त क्षेत्र गतिशील हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै लघुवित्तको मर्म र भावना अनुसार लघुवित्त क्षेत्रलाई नयाँ ऊर्जाको साथ गतिशील वनाउने उद्देश्यले स्वावलम्बन विकास केन्दले २०७८ पौष १३ र १४ गते उक्त तालिमको आयोजना गरेको हो । उक्त तालिम लघुवित्त तथा सहकारी संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च तहको व्यवस्थापनलाई लक्षित गरी आयोजना गरिएको थियो ।

तालिमको अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लक्षित बर्ग एवं मुलुकको अवस्था सुधार गर्ने हो भने लघुवित्तको नेतृत्व चेतनशील हुनु आवश्यक रहेको धारणा राखे । “यहाँ आ–आफ्नो लघुवित्त संस्थाहरूबाट पहिलो र दोस्रो तहको नेतृत्व उपस्थित हुनुहुन्छ । हामी सबै पढेलेखेका सक्षम छौँ । हामी अहिलेको अवस्थामा चेतनशील र बिवेकशील पनि हुनु आवश्यक छ । लघुवित्तको नेतृत्वले कर्तब्य परायण, धैर्यवान र लोभ लालचबाट मुक्त हुनु आवश्यक छ । लोभ, लालचले नेतृत्वलाई कमजोर वनाउँछ र उस्को आफ्नै र संस्थाको यात्रा ओरालो तीर डोर्याउँछ । हामी एउटा अभियानमा छौँ “स्वच्छ लघुवित्त हाम्रो अभियान” । स्वच्छ लघुवित्त वनाउनको लागि पहिला नेतृत्व स्वच्छ हुनु पर्यो र चेतनशील हुनु पर्यो । यति गरे धेरै सफलता प्राप्त गर्न सकिन्छ । नेतृत्वको छवि राम्रो भएन भने कर्मचारीको छवि राम्रो हुन सक्दैन अन्ततः संस्थाको छवि नै खराव हुन जान्छ ।

हाम्रो सामु धेरै चुनौति र जिम्वेवारी छन् । अहिले नेपालको मुख्य चुनौति भनेको गरिबी र बेरोजगारी हो । लघुवित्तले गर्न सक्ने र हाम्रो सत्कर्मले यो दुईवटा समस्यालाई घटाउदै लैजान सक्छौँ । त्यसैले यो कार्यमा लघुवित्तको नेतृत्व बिवेकशील भएर लाग्नु पर्छ । पहिला नेपालको लघुवित्त क्षेत्र विश्वमै राम्रो कहलिएको थियो र लघुवित्तकर्मी अनुशासित थिए । बंलादेशाबाट आउने टोलीले त्यहाँको भन्दा नेपालको लघुवित्त सस्कारयुक्त र हाम्रो ग्राहक सदस्यहरु धेरै अनुशासित भन्थे । लघुवित्तकर्मीले पनि आफ्ना ग्राहक सदस्यको जीवन स्तर माथि उकास्न बगैचाको मालीले जस्तै मेहनत गर्नु पर्छ । मुख्य समस्या भनेको अहिले नेतृत्वमा वस्नेहरू फिल्डमा गएर कर्मचारी र ग्राहकको वास्तविक अवस्था बुझ्दैनन् । सदस्य प्रति जिम्मेवार देखिदैनन् ।

यद्यपि लघुवित्तले केही योगदान नै गरेको छैन र तपाईहरूले केहि गर्नु भएको छैन भन्ने पनि होइन । धेरै काम गर्नु भएको छ । तर केही गल्ति भएका छन् तिनलाई सुधारौँ भन्ने हो । यसैकोलागि बिवेकशील भएर अगाडी वढौँ भन्ने हो । पहिला आफै चेतनशील वनौ त्यसपछि क्रमशः आफ्नो कर्मचारीहरूलाई पनि चेतनशील र बिवेकशील वनाउँदै लगौँ । यसको परिणाम संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य २०३० अगावै सन् २०२५ सम्म आफ्नो कार्यक्षेत्रमा गरिबी अन्त्य गर्ने लक्ष्यका साथ अघि वढौँ । यसले देशको मुहार फेर्न सक्छ ।” श्रेष्ठको भनाई थियोे ।

सो अवसरमा श्रेष्ठले सहभागीहरूलाई तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । “सिकेको कुरा व्यवहारमा उतार्ने हो । नत्र सिकेको कुराको कुनै महत्व हुदैन । हामी धेरै जसो सिकेको कुरा सिक्ने कोठमा मात्र सिमिति राख्छौँ तर यहाँ प्राप्त ऊर्जा हल वाहिर गएर सेलाउनु भएन । कार्यस्थलमा पुगेर व्यवहारमा देखिनु पर्यो ।” श्रेष्ठले भने ।

तालिमका मुख्य प्रशिक्षक विकल प्रसाद शेरचनले सफलताको लागि नेतृत्व बिवेकशील हुनु आवश्यक रहेको धारणा राखे । तालिमको क्रममा उहाँले बिवेकशील नेतृत्व कस्तोलाई भन्ने, बिवेकशील नेतृत्वको अवधारणा, बिवेकशील नेतृत्वको अभ्यास कसरी गर्ने, भावनात्मक नेतृत्वको  सिद्धान्त, यसले व्यक्तिगत र संस्थागत जीवनमा पार्ने सकारात्मक प्रभाव र विश्व परिवेशमा बिवेकशील नेतृत्वको अभ्यास लगायतका पक्षहरू समेटेका थिए । साथै शेरचनले बिवेकशील नेतृत्वको लागि सैद्धान्तिक संंगै व्यवहारिक पक्षबारे पनि अभ्यास सहित जानकारी गराएका थिए । तालिमका अर्को प्रशिक्षक उषा मल्ल सिंहले असल नेतृत्वमा हुनु पर्ने सञ्चार कला बारे जानकारी गराएकी थिइन् । जस अन्तर्गत मुख्य गरी चेतनशील सञ्चारको महत्व र नेतृत्वमा हुनु पर्ने चेतनशील सञ्चारका तीनवटा मुख्य तत्वहरु चेतनशील अवलोकन, चेतनशील सुनाई र चेतनशील व्यवहार बारे जानकारी गराएकी थिइन् ।

तालिम समापन समारोहमा बोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले लघुवित्तमा देखिएका समस्याहरु समाधानको लागि नेतृत्व विवेकशील हुनु पर्नेमा जोड दिए । “हाम्रो मुल अभियान भनेको ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने छ । यसलाई सफल वनाउन विवेकशील नेतृत्व हाम्रो अभियान भन्ने मर्म अनुसार अघि वढ्नु जरूरी छ । त्यसो भयो भने हामी लघुवित्तमा देखा परेका समस्याले ठुलो रूप लिन नपाउदै समयमै समाधान गर्न सक्षम हुन्छौ । समस्याहरू हामी आफैले सृर्जना गरेका हौँ र अन्ततः समस्याको समाधान पनि हामी आफैले गर्ने हो । यसको लागि नेतृत्वले समयमै बिवेकशील हुनु जरूरी छ ।” गिरीको भनाई थियो ।

सहभागीहरुले तालिममा बिवेकशील नेतृत्व वन्नको लागि पर्याप्त ज्ञान तथा मुल मन्त्रहरु पाएको र यसले कार्यस्थलमा परिणाममुखी काम गर्न सहज हुने धारणा राखेका थिए । सो अवसरमा सहभागीहरुको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्था का सुदिप कुमार मण्डल, सृजनशील लघुवित्त वित्तीय संस्थाका राज कुमार श्रेष्ठ, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका उदय राज खतिवडा, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लोकमणी रेग्मी, उपकार लघुवित्त वित्तीय संस्थाकी शारदा पोखरेल र किसान बहुउद्देश्यीय सहकारी संस्थाका दिपक राज ढुंगानाले तालिमको सिकाई बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

तलिममा २१ वटा लघुवित्त एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नयाव प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक तथा उच्च व्यवस्थापनका गरी ३४ जनाकोे सहभागिता रहेको थियो ।

समाचार

सुचना