स्वावलम्बन विकास केन्द्र

पहिलो प्रादेशिक तीन शून्य क्लब सम्मेलन मधेश प्रदेशको सर्लाहीमा सम्पन्न गरिबी, वेरोजगारी र खुद कार्वन उत्सर्जन विरुद्ध ७ बुँदे प्रतिबद्धता

वर्तमान समयका तीन ठूला समस्या गरिबी, बेराजगारी र खुद कार्बन उत्सर्जलाई शून्यमा झार्न युवा पुस्तालाई अघि बढाउने अवधारणा अनुसार गठन एवं प्रवद्र्धन गरिएका तीन शून्य क्लबहरुको पहिलो सम्मेलन २०८० चैत्र २४ मा मधेश प्रदेशको सर्लाहीमा सम्पन्न भएको छ । सम्मेलनले ७ बुँदे प्रतिवद्धता पनि जारी गरेको छ । युवाहरुले गरिबी, वेरोजगारी र खुद कार्बन उत्सर्जनलाई शून्यमा झार्नको लागि विभिन्न कृयाकलापमा जोड दिने र सरोकारवाला निकाय, संस्था तथा व्यक्तिहरुले क्लबमा आवद्ध युवाको सो अभियानमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धता अनुसार क्लबका सदस्यहरुको क्षमता उजागर गर्न प्रोत्साहन गर्ने, हरेक क्लबको वार्षिक कार्ययोजना तयार गर्ने, युवा मार्फत समुदायमा संरक्षण, युवा स्वरोजगार तथा गरिवी न्यूनीकरणको अभियान सञ्चालन गर्ने, क्लबका युवासँग सहकार्य गरी सहकारी र लघुवित्तको महत्व तथा वित्तीय साक्षरताबारे सचेतना फैलाउने, क्लबमा आवद्ध युवाहरुलाई श्रृजनशील बनाउन र विद्यालय पढ्दा देखिनै आयआर्जनका कृयाकलाप सँग जोडेर उद्यमी बनाउन विभिन्न कृयाकलापहरु गरिने छन् ।


स्वावलम्बन विकास केन्द्रको समन्वय तथा चमेली बचत तथा ऋण सहारी संस्थाको आयोजनामा सम्पन्न सो सम्मेलनमा सर्लाही क्षेत्र नं १ (क) का प्रदेश सभा सांसद माननीय उपेन्द्र महतो, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठ, चमेली साकोसका अध्यक्ष, सञ्चालक तथा कर्मचारी र ३ सय भन्दा बढी क्लबका प्रतिनिधिहरुको सहभागिता रहको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय उपेन्द्र महतोले युवाहरु देश तथा समाजको सुन्दर भविष्य भएको बताउँदै सामाजिक सौहार्दता र वातावरणीय सन्तुलन कायम गर्न संगठित भएर काम गर्नु पर्ने धारणा राख्नुृ भयो । महतोले युवाहरुले वातावरण संरक्षणको लागि बृक्षारोपण गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै असल काम गर्ने भए त्यसमा आफूले सघाउने समेत बताउनु भयो । साथै उहाँले युवाहरुलाई उद्यमशीलताका कृयाकलापमा जोड्न चमेली साकोसको तीन शून्य क्लब अक्षयकोषमा एकलाख रुपैया प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
सम्मेलनलाई सम्वोधन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले तीन शून्य क्लब प्रवद्र्धन आफू सेको समाज र पूरै पृथ्वीलाई शान्त र सुरक्षित बनाउन युवाहरुलाई एकजुट बनाई उत्तरदायी बनाउने नोवेल विजेता प्रोफेसर मोहम्मद यूनुसकोे अवधारणा भएको र यो अहिले विश्वका धेरै देशले अवलम्बन गरेको जानकारी दिनु भयो । साथै तीन शून्य क्लबको गठनमा नेपाल विश्वमै अग्रणी भएको र आगामी दिनमा युवाहरुलाई अझ सक्रिय बनाउन प्रोत्साहित गर्नु पर्ने धारणा राख्नु भयो । “पछिल्लो २ वर्षमा विश्वभरी ३ हजार तीन शुन्य क्लब गठन भएकोमा नेपालमा मात्रै २ हजार भन्दा बढी क्लबहरु गठन भएका छन् । यो सुखद पक्ष हो । अब संख्या सँगै क्लबको माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेख्य परिणाम ल्याउन तर्फ पनि जोड दिनु पर्छ । युवाहरुमा समाज देश वा संसारै परिवर्तन गर्न सक्ने क्षमता छ । यसको लागि शुरुवात आफैबाट गर्नुपर्छ । म आग्रह गर्छु तीन शून्य क्लबमा आवद्ध हरेक सदस्यहरु तीन शून्य बन्नुस । आफु स्वरोजगार, सक्षम र आत्मनिर्भर बन्नुस्, वातवरणमैत्री व्यवहार गर्नुस् । अहिले दैनिक २ हजार भन्दा वढि युवा विदेश जान्छन । अव तीन शून्य क्लबका कुनै सदस्य कामको लागि विदेश नजाने प्रण गर्नुस् । यहाँहरुको सक्रियता देख्दा अव युवाहरु स्वदेशमै केही गरेर देश विकासमा लाग्नु हुनेछ भन्ने आशा पलाएको छ ।” श्रेष्ठको भनाई थियो । उहाँले युवाहरुलाई स्वदेशमै अवसरहरुको सिर्जना गरी देश निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
श्रेष्ठले लघुवित्त तथा सहकारी कार्यक्रम गरीब तथा विपन्न वर्गको आर्थिक सामाजिक रुपान्तरणको लागि भएकोले शिक्षक तथा युवाहरुमार्फत यसको सही महत्ववारे जनमानसमा बुझाउनु पर्ने धारणा राख्नुभयो ।
सो अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ईश्वरपुरकी शान्ति लामाले युवाहरुलाई सत्मार्गमा हिडेर समाजलाई शान्त र समुन्नत बनाउन योगदान गर्नु पर्नेमा जोड दिनु भयो । 
चमेली साकोसका लेखा समिति संयोजक मेन कुमार गौतमले चमेली साकोसले समाजमा योगदान गर्न थप नयाँ काम गर्ने योजना अनुसार तीन शून्य क्लबको प्रवद्र्धन गर्दै प्रादेशिक सम्मेलन गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा चमेली साकोसका प्रमुख कार्यकारी अधिकृत भरत साहले तीन शून्य क्लबको, महत्व, गठन प्रकृया र कार्य शैली, नेपालमा तीन शून्य क्लब र ती क्लबहरुले गरेका कामहरु आदिबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपालमा गठन भएका २ हजार४ वटा क्लबहरु मध्ये चमेली एक्लैले ६ सयवटा क्लबहरु गठन गरेको जानकारी दिनु भयो ।

 
सोही अवसरमा ६ वटा क्लबका प्रतिनीधिहरुले आफ्नो क्लबले गरेका कामहरुबारे जानकारी गराउनुको साथै काम गर्दाका अनुभवहरु सुनाउनु भएको थियो । सम्मेलनकै अवसरमा विभिन्न जनचेतनामूलक नाटक, गीत लगातका प्रस्तुतीहरु पनि गरिएको थियो । यसको साथै तीन शून्य क्लबका सदस्यले आयआर्जनका कृयाकलाप अन्तर्गत गरेका हस्तकला तथा वास्तुकलाको प्रदर्शनी पनि गरेका थिए । 
सम्मेलनकै अवसरपारी चमेली साकोसले उपस्थित युवाहरुलाई १२ सय वटा विभिन्न जातका विरुवाहरु तथा विद्यालयमा फोहोर व्यवस्थापनको लागि डस्टविनहरु पनि बाँडेको थियो । चमेली साकोसका अध्यक्ष राम प्रताप साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्लाही जिल्लाका ८ वटा विद्यालयका शिक्षकहरुको पनि सहभागिता रहको थियो । तीन शून्य क्लब गठन र प्रवद्र्धनमा उदाहरणीय काम गरेकामा उक्त विद्यालयहरुलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
सम्मेलनमा तीन शून्य क्लबका प्रतिनिधि, विद्यालयका शिक्षक, लघुवित्त तथा सहकारीकर्मी लगायत करिब ३ सय ५० जनाको सहभागिता रहको थियो ।

समाचार

सुचना