स्वावलम्बन विकास केन्द्र

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सफलताका साथ काठमाडौंमा सम्पन्न

“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नारालाई र्मूतरुप दिन यही २०८० फागुन ५ देखि ६ गते सम्म यस केन्द्रको संयोजकत्वमा “चौथो राष्ट्रिय लघुवित्त सदस्य” सम्मेलन सफलताका साथ काठमाडौं,  बबरमहल स्थित कार्की ब्यांक्वेटमा भव्यता पूर्वक सम्पन्न भएको छ । दुई दिने लघुवित्त सम्मेलन कार्यक्रममा लघुवित्त विशेषज्ञहरू, अर्थशास्त्रीहरू, नीति निर्माताहरू, प्रबन्धकहरू, कर्मचारीहरू, र ग्राहक सदस्यहरूको गरी करिब ८०० को सहभागीता रहेको थियो ।

सम्मेलनका दौरान देशमा लघुवित्तको वर्तमान अवस्था, समस्या, समाधानको उपाय, उपलब्धि र चुनौतीहरु, ग्राहक सदस्यका अनुभव साथै रोजगारी सिर्जनामा लघुवित्तको भूमिका बारे छलफल भएको थियो । ऋण लिएका विपन्न वर्गका सदस्यले आफुसँग भएको शीपको उपयोग गरी कर्जा उत्पादनशील कार्यमा लगाएर कसरी सम्पन्नता हासिल गरे भन्ने बारे आफ्नो अनुभव, अनुभूतिका साथै लघुवित्तकर्मीहरुलाई सुझावहरु समेत दिएका थिए । लघुवित्तबाट लिएको ऋण सदुपयोग गर्नसके यसले जीवनमा सकरात्मक परिवर्तन ल्याउन सकिने र ऋण लिएर सदुपयोग गर्न लघुवित्तका ऋणीहरुलाई सुझाव समेत दिए । यसरी सत्मार्गमा लागे आफू मात्रै नभएर जोकोही पनि सफल उद्यमी बन्न सकिने भनी हौसला समेत गराए ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मेलनको उद्घाटन गर्दै लघुवित्तकै कारण नेपालका ग्रामिण भेगका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । लघुवित्तलले आर्थिक रुपमा कमजोर विपन्न परिवारहरुमा लघुउद्यमको विकास गरी स्वरोजगार बनाई उनीहरुको जिविकापार्जनमा सहज बनाउन ठूलो भूमिका निवार्ह गरेको समंरण गर्दै केही स्वार्थ समूहले राजनीतिकरण गर्न खोजेकोले अहिले लघुवित्तले समस्या भोग्नुपरेको बताउनु भयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले सम्मेलनमा खुशी र उत्सवको माहोल बनेको देख्दा सम्पूर्ण सहभागीमा आभार व्यक्त गर्नुभयो ।

सम्मेलनमा संस्था तथा सदस्यहरुलाई विभिन्न पुरस्कारहरुबाट सम्मानित समेत गरिएको थियो । गरिबीको रेखामुनी रहेका अति विपन्न परिवारको जीवनस्तर उकास्न उत्कृष्ट काम गर्ने कर्मचारी र संस्था, तीन शून्य क्लबको प्रवद्र्धनमा उत्कृष्ट काम गर्ने क्लबहरु, कर्मचारीहरु र संस्थाहरु, घरघरमा उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय काम गर्ने लघुवित्त सदस्य र कर्मचारीलाई सम्मान पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

दुई दिने चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन कार्यक्रममा भएको छलफलका विषय, धारणा र प्रस्तावहरुलाई मध्यनजर गर्दै सहभागीहरुको सर्वसम्मतिबाट पारित १२ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो । घोषणापत्रले लघुवित्तमा निम्तिएको विकृति र अनियमिततालाई सच्याउने, सदस्य तथा संस्थालाई समेटी सचेतना अभियान थाल्ने, सदस्य तथा कर्मचारीको आचरण अभिवृद्धि गर्ने, विपन्न महिलाहरुको लागि कर्जा र बचत प्रर्वाहमा सहजीकरण गर्ने, वातावरणमैत्री र उद्यमशील समाज निर्माण गर्ने, प्रविधिमैत्री संस्थाहरू निर्माण गर्ने, लघुवित्तमा संलग्न निष्क्रिय सदस्य साथै सदस्यका छोराछोरी तथा युवालाई उद्यमी बनाउन अभियान सुरु गर्ने र तीन शून्य क्लबको प्रवद्र्धन गर्ने योजना समावेश गरेको छ ।

समाचार

सुचना