स्वावलम्बन विकास केन्द्र

लघुवित्त सेवा उद्देश्यमुलक वनाउन थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरुको भूमिका थप प्रभावकारी बनाउन विज्ञहरुको जोड

स्वावलम्बन विकास केन्द्रले २०७८ बैशाख २० गते आयोजना गरेको “लघुवित्तको बर्तमान बजारमा थोक कर्जा दिने संस्थाको सबलता र दुर्बलता (Vitality and Vulnerability of Wholesale Lending Organizations in the Present Niche Market of Microfinance)”विषयक अनलाइन छलफल संवाद श्रृंखलाका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

आरयमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझा प्रमुख वक्ता रहेको उक्त वेविनारलाई नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. भेष प्रसाद धमलाले सहजीकरण गरेका थिए ।

उक्त वेविनारका वक्ता ज्योति चन्द्र ओझाले थोक कर्जा प्रदायक संस्थाहरुको वर्तमान अवस्था, थोक कर्जा उपलब्ध गराउँदाका सहजता र जोखिमहरु, नीतिगत समस्याहरु तथा समग्र लघुवित्त क्षेत्रको अवस्था बारे प्रस्तुति गरेका थिए । प्रस्तुतिको क्रममा ओझाले हाल मुलुकमा ७६ वटा लघुवित्त संस्थाहरु रहेको, जसमध्ये चार वटा थोक कर्जा प्रदायक संस्था रहेका उल्लेख गरे । ओझाले हाल लघुवित्त संस्थाहरुमा जम्मा ७ प्रतिशत मात्रै थोक कर्जा प्रदायक संस्थाहरुको लगानी रहेको तथ्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा ओझाले हाल थोक कर्जा प्रदायक संस्थाहरु सामु ८० प्रतिशत भन्दा बढी आर्थिक स्रोतको लागि वाणिज्य बैंकमा आश्रित हुनु परेको, थोरै व्याजदरमा लघुवित्त संस्थाहरुलाई कर्जा उपलब्ध गराउन नसकेको, निकै कम मुनाफा र अस्थिर व्याजदरमा चल्नु परेको, वाणीज्य बैंकहरुले पनि सोझै लघुवित्त संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउने गरेको जस्ता चुनौतिहरु रहेको बताए । हालको नीतिगत व्यवस्था पनि थोक कर्जा प्रदायक संस्था अनुकूल नभएको ओझाको भनाइ थियो । ‟पहिला सरकारले लघुवित्त विकास कोष स्थापना गर्ने र त्यसको जिम्मा होलसेल संस्थाहरुलाई दिने भनेको थियो तर कार्यान्वयन भएन । अहिले विभिन्न तहमा वित्तीय राहतका प्याकेजहरु कार्यान्वयनमा आएका छन् । जसले गर्दा होलसेल गर्ने संस्थाहरु टिक्न मुस्किल भएको छ ।ˮ ओझाले भने । विपन्न वर्ग, पिछडिएको क्षेत्र तथा लघुवित्तका समस्या समाधान गर्न आएका वित्तीय राहतका कार्यक्रमहरुलाई एकद्वार प्रणालीवाट थोक कर्जा प्रदायक संस्थाहरु मार्फत अघि बढाउनु पर्ने ओझाको धारणा थियो ।

शुरुवाती अवस्थामा लघुवित्तको स्थापना र प्रवद्र्धन गर्न आरएमडीसीले महत्वपूर्ण भूमिका खेलेको साथै ऊ बेला लघुवित्त संस्थाहरुले पनि गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताए । ‟ऊ बेला थोक कर्जा प्रदायक संस्थाले कर्जा सँगै क्षमता विकासको प्याकेज लिएर जान्थे । अहिले कर्जा प्रवाह घटेको र वाणिज्य बैंकहरुले पनि कर्जा दिन थालेकाले क्षमता विकासका काम प्रभावित हुन थाले । लघुवित्त संस्थाहरु उद्देश्य र लघुवित्तको मर्म विपरित चल्न थाले । सेवामुलक हुनु पर्ने लघुवित्त संस्था नाफा केन्द्रित भएका छन् । अहिले लघुवित्तमा धेरै विकृतिहरु पनि आएका छन् । आरएमडीसीले लघुवित्तमा देखिएका विकृतिहरु हटाउन क्षमता विकास गर्ने तथा पैरवी गर्ने काम गरी रहेको छ । अझै पनि कोष तथा स्रोत व्यवस्थापनको भरपर्दो अवस्था भए आरएमडीसी लगायत थोक कर्जा प्रवाह गर्ने संस्थाहरुले लघुवित्तको विकास र प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्न सक्छन् । यसका लागि सरकार तथा सारोकारवालाहरुले थोक कर्जा प्रदायक संस्थाहरुलाई बलियो बनाउन जरुरी छ । ˮ ओझाले भने ।

वेविनारमा आफ्नो धारणा राख्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले पछिल्लो समय लघुवित्त क्षेत्र उद्देश्यवाट च्यूत भएको र यसलाई सही बाटोमा डो¥याउन भूमिका खेल्न थोक कर्जा प्रदायक संस्थाहरु खास गरी आरएमडीसीलाई आग्रह गरे । ‟लघुवित्त कार्यक्रम जुन उद्देश्यका साथ शुरु भएको हो हाल त्यो मार्ग छोडेर दायाँ बायाँ भएको अवस्था देखिन्छ । गरिबी मुक्त समाज हाम्रो लक्ष हो । हाम्रो काम भनेको विपन्न वर्गको दैलोमा पुगेर सेवा दिने र उसको जीवनस्तर माथि उकास्ने हो । तर अहिले हामीले गरीबलाई ऋणको भार थोपार्ने काम गरिरहेका छौँ । शुरुमा हामी के थियौँ, कसरी काम गथ्र्यौ, अहिले के गर्दैछौँ भन्ने अवस्था मुल्यांकन गरेर अगाडी बढौँ । हामीे गरिबी निवारण गर्न कति सक्षम छौँ, त्यसको पनि विवेचना गरौँ । आरएमडीसीले पनि लघुवित्तलाई सही बाटोमा हिडाउने नेतृत्व लिन सक्छ त्यस तर्फ लागौँ ।ˮ श्रेष्ठको भनाई थियो ।

श्रेष्ठले अहिले गरीब र धनी विचको खाडल बढ्दै गएको बताउदै स्रोतहरुमा पहुँच हुनेहरु धनी बन्दै गएको र स्रोतमा पहुँच नहुनेहरुको जीवनस्तर माथि उठ्न नसकेको धारणा राखे । ‟धनी र गरिब विचको बढ्दो खाडल पुर्न लघुवित्तले मुलुकमा रहेको विपन्न वर्ग र समुदायसम्म पुग्नु पर्छ । आरएमडीसी जस्ता संस्थाहरुले आफ्ना साझेदार संस्थाहरु मार्फत देशभर विपन्न र पिछडिएको समुदाय खोजेर सेवा दिने र युवा जमातको  लागी रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनु प¥यो र यो कार्य देशको लागि निकै ठूलो योगदान हुन सक्छ । अहिले पनि गरीब र विपन्न वर्ग साहुको शोषणमा परेको छ, मिटरव्याजबाट पीडित छ । उनीहरुलाई त्राण दिन सञ्जाल विस्तार गरेर अगाडी बढ्नु पर्छ ।ˮ श्रेष्ठको सुझाव थियो ।

वर्तमान कोरोना महामारी सँगै लघुवित्त क्षेत्रका चुनौति र तिनको समाधनवारे छलफल गर्न स्वावलम्बन विकास केन्द्रले अनलाइन मञ्च प्रदान गरेको वताउदै श्रेष्ठले यस्तो छलफल आगामी दिनमा पनि निरन्तर जारी राख्ने धारणा राखे ।

वेविनारका सहजकर्ता तथा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. भेष प्रसाद धमलाले वर्तमान चुनौति पन्छाउदै लघुवित्तहरु आफ्नो मूल उद्देश्य र सिद्धान्त अनुरुप अगाडी बढ्नु पर्ने धारणा राखे । ‟अहिले लघुवित्त क्षेत्रमा धेरै थरि समस्या छन् । कतिपय समस्या हामै्र कारणले छन्, कतिपय हाम्रो कार्य पद्धति र शैलीका कारण उत्पन्न भएका छन् भने कतिपय नीतिगत समस्या छन् । यस कोरोना महामारीबाट पाठ सिकेर हिजोको कार्य पद्धति परिवर्तन पनि गर्न सकिन्छ । तर यी सबै समस्या पन्छाएर लघुवित्तको एउटै उद्देश्य गरिबी निवारण हुनु पर्छ । नाफामुखी हुनु भएन ।ˮ धमलाले भने । अबको दिनमा लघुवित्तले समुदायमा उद्यमशीलता पु¥याउन र सदस्यको उत्पादनलाई बजार सँग जोड्नको लागि के गर्न सकिन्छ त्यसमा ध्यान दिएर लघुवित्त सेवा समय सापेक्ष बनाउँदै लैजानु पर्ने डा. धमलाको धारणा थियो ।

वेविनारको प्रश्नोत्तर छलफलमा आफ्नो धारणा राख्दै ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा.पुरुषोत्तम श्रेष्ठले महामारीको अवस्थामा कार्यशैली परिवर्तन गर्दै लघुवित्त संस्थाहरुले प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिनु पर्ने बताए । साथै कर्जा संगै सीप र क्षमता विकासमा जोड दिन सके गरिबी निवारणमा टेवा पुग्ने र असुली दर बढेर संस्था पनि सवल हुने धारणा राखे ।

ग्रामीण विकास समाज केन्द्र नेपालका अध्यक्ष मणी अज्र्यालले लघुवित्त संस्थाहरुले गरिबी निवारणमा ठुलो योगदान पु¥याएका छन् तर त्यसको विवरण दिने तथ्यांक नहुदा ती कामहरु ओझेलमा परेको र लघुवित्त संस्थाहरुले आफूले गरेका कामको अविलम्ब तथ्यांक संकलन गरी प्रचार प्रसार गर्नु पर्ने धारणा राखे ।

सो अवसरमा वौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले  थोक कर्जा प्रदायक संस्थाहरुले लघुवित्त कार्यक्रम संचालकका समस्याहरुमा पैरवी बढाउनु पर्ने धारणा राखे । साथै थोक कर्जा प्रवाह गर्दा अब सहकारी संस्थालाई पनि समेटनु पर्ने केसीको धारणा थियो ।

बढ्दो कोरोना महामारीले लघुवित्त क्षेत्रमा पनि चुनौतिहरु थपिएकोे वर्तमान परिपे्रक्षमा स्वावलम्बन विकास केन्द्रले छैठौँ संम्वाद श्रृखलाको रुपमा “लघुवित्तको बर्तमान बजारमा थोक कर्जा दिने संस्थाको सबलता र दुर्बलता” विषयमा उक्त अनलाइन संम्वादको आयोजना गरेको हो । वेविनारमा ४२ वटा संस्थाका १सय १८ जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना