स्वावलम्बन विकास केन्द्र

भियतनाममा सामाजिक सेवाको रुपमा लघुवित्त प्रणाली : केन्द्रका निर्देशक सतिश श्रेष्ठको अनुभव

स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्तकर्मीहरूको लागि २०७९ साउन २८ देखि भदौ ४ सम्म समाजवादि गणतन्त्र भियतनामको लघुवित्त नीति, कार्यक्रम, दृष्टिकोण एवं अनुभवहरू बारे जानकारी लिन अध्ययन÷अवलोकन भ्रमणको आयोजना गरेको थियो ।
उक्त भ्रमणको संयोजनकर्ताको रुपमा मैले पनि त्यहाँका अग्रणी लघुवित्त संस्थाका प्रतिनधि संग लघुवित्तबारे बिचार बिमर्श गर्नुको साथै भियतनाममा लघुवित्तका विभिन्न आयामबारे जानकारी लिए । हाम्रो भ्रमण टोलको निश्कर्ष भनेको भियतनाममा लघुवित्त प्रणालीलाई गरीब तथा निम्न बर्गको उत्थानको अस्त्रका रुपमा प्रयोग गरिएको र यस प्रणालीलाई सामाजिक सेवाको माध्यमका रुपमा लिइएकोे निश्कर्ष निकालेको छ ।


भ्रमणका क्रममा टोलीले उत्तरमा हनोई र दक्षिणमा हो ची मिन्ह प्रान्तमा रहेका भियतनामका ३ वटा ठूला लघुवित्त संस्थाहरूको भ्रमण गरेको थियो ।


भ्रमण गरिएको पहिलो संस्था हनोईमा १३ वर्षको इतिहास बोकेकोे ताओ येउ मे टिन थुओंग लिमिटेड लायबिलिटी माइक्रोफाइनान्स इन्स्टिच्युशन (तिवाईएम) थियो । तिवाईएम ऋण लगानी र सदस्य संख्याको हिसाले भियतनामको दोस्रो ठूलो संस्था हो । साथै भियतनामको लघुवित्त नियामक निकायले नियमन गरेका थोरै लघुवित्त सेवा प्रदायक संस्था मध्येको एउटा हो ।
तिवाईएम भियतनामका ५ सय ८९ जना पूर्णकालिक कर्मचारीहरूले हाल २१ वटा शाखा र ३९ वटा वित्तीय सेवा प्रदायक कार्यालयहरू बाट लघुवित्त सेवा प्रदान गरी रहेको छ । सो संस्थाका महानिर्देशक सुश्री फाम थि थुई लिन्हको नेतृत्वमा रहेको अधिकारीहरुको टोलीले अध्ययन अवलोकन टोलीलाई स्वागत गर्नुको साथै संस्थाको कार्यशैली, संस्थाका नीति तथा कार्यक्रम आदि बारे जानकारी गराउनु भएको थियो । 
तिवाइएमले ग्रामीण ट्रस्ट बंगलादेशबाट बिऊ पुँजी लिएर ग्रामीण लघुवित्त प्रणाली अवलम्बन गरेर लघुवित्त सेवा शुरु गरेको थियो । तर पछि आफ्ना ग्राहक सदस्यहरूको आवश्यकता र माग अनुरूप आफ्ना कार्यक्रमहरु परिमार्जन गर्दै आएको छ । जस अनुसार तिवाइएमले कर्जा असुली गर्ने दायित्व समूहमा नभई ऋण लिने व्यक्तिमा रहने लगायतका व्यवस्थाहरु अवलम्बन गरेको छ ।
भ्रमण टोलीले क्यापीटल फण्ड फर इपोलोइमेन्टअफ दी पुअर (सीप) नामक लघुवित्त संस्थाको पनि अध्ययन अवलोकन भ्रमण गरेको थियो । होचि मिन्ह प्रान्तमा मुख्य कार्यालय रहेको सीप लघुवित्त संस्था एक गैर सरकारी सामाजिक संस्थाको रुपमा सन् १९९१मा स्थापना भएको थियो । भियतनाम कम्यनिष्ट पार्टि संग सम्बन्धन प्राप्त चिन मिन्ह सिटि श्रमीक टे«ड यूनियनको पहलमा स्थापना भएको यो संस्था भियतनाममा सञ्चालित सबैभन्दा ठूलो लघुवित्त संस्था पनि हो । सीपले मुख्य गरी श्रमिक बर्ग र दैनिक ज्यालादारी मजदुरलाई लक्षित गरी सेवा प्रवाह गर्छ । यसले हो चिन मिन्ह प्रान्तको साथै यस आसपासका प्रान्तहरूका अर्ध सहरी र ग्रामीण क्षेत्रमा ३० वटा शाखाहरूको सञ्जालमार्फत बचत र ऋण सेवा प्रवाह गर्दै आएको छ । सीपले साप्ताहिक र मासिक ऋण कार्यक्रम लागु गरेको छ जुन निकै लोकपृय र प्रभावकारी मानिएका छन् । जस अनुसार दैनिक ज्यालादारि मजदुरको लागि साप्ताहिक रुपमा ऋण सेवा उपलब्ध गराएको छ भने आफ्नो मासिक ऋण कार्यक्रम मासिक तलबी श्रमिकहरुको लागि लक्षित गरेको छ ।   
भ्रमण टोलीले दक्षिण पूर्वी प्रान्त बेन ट्रेमा रहेको अर्को लघुवित्त संस्था “बेन ट्रे वुमेनन्स इकोनोमिक डेभलपमेन्ट फण्ड (फेड)” पुगेर सो संस्थाको को लघुवित्त कार्यक्रम पनि अध्ययन अवलोकन गरेकोे थियो ।
बेन ट्रेको महिला टे«ड युनियनले २०१३ इ.सन्मा मुनाफा रहीत सामाजिक वित्तीय कोषको रुपमा स्थापना गरेको यो संस्थाले महिलाहरू लक्षित सेवा प्रदान गर्छ । यसको मुख्य लक्ष समान रुपमा वित्तीय पहुच पुर्याउनुको साथै महिलाहरूको आर्थिक अवस्थामा सुधार ल्याउन बैज्ञानिक पद्धती र आधुनिक प्रविधिको सहायताले अवसरहरू सिर्जना गर्नु रहेको छ । यसले बेन ट्रे प्रान्तका न्यून आय भएका विपन्न घरपरिवारका मानिसहरूलाई बचत तथा ऋणको साथै अन्य वित्तीय र गैर–वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ । बेन ट्रे प्रान्तमा यसको महत्वपूर्ण उपस्थिति छ ।


बेन ट्रे वुमेन्स इकोनोमिक डेभलपमेन्ट फण्डले १८ देखि ६५ वर्ष उमेर समूहका गरीब परिवारका पुरुष र महिला लघुउद्यमीहरूलाई सेवा प्रदान गर्दछ । उक्त संस्थाले बेन ट्रे प्रान्तमा ९ वटा शाखाको सञ्जाल मार्फत उत्पादनकर्ता तथा व्यापार समूहका सदस्य, सहकारी समूह एवं उत्पादक संघ समूहका सदस्यहरूलाई पनि बिना धितो सामुहिक जमानीमा ऋण लगानी गर्छ । साथै उक्त संस्थाले सदस्यको आवश्यकता र क्षमताको आधारमा ऋण प्रवाह गर्छ भने ऋणको अवधि १ देखि ३ बर्षको रहेको छ ।
भियतनाममा सबै दर्ता भएका लघुवित्त संस्थाहरु यात गैर सरकारी संस्थाको परियोजनाको रुपमा सञ्चालनमा छन यात यहाँको महिला यूनियन वा अन्य समाजिक राजनीतिक संघसंस्थाहरूले सञ्चालन गरेका छन् ।
यहाँका लघुवित्त संस्थाहरूले वाणिज्य बैंकहरूबाट कुनै पनि सहुलियतपूर्ण ऋण प्राप्त गर्दैनन् । फलस्वरूप कोष वृद्धिमा सीमित पहुँच हुने गरेको छ । यसको साथै भियतनामको लघुवित्त नियामक निकायले लघुवित्त परियोजना र कार्यक्रमहरूलाई विदेशी मुद्रामा ऋण ल्याउन र तिनीहरूले परिचालन गर्न सक्ने निक्षेपको मात्रामा सीमा तोेकेको छ ।
भ्रमणको क्रममा टोलीका सदस्यहरूले भियतनाममा समग्र लघुवित्तको आधारभूत विषयबस्तु वारे पनि जानकारी पाएका थिए । यहाँ कर्जाको दर औसत १८ देखि १९ प्रतिशत रहेको छ जुन दक्षिण पूर्व एसियामा तुलनात्मक रूपमा कम मानिन्छ । यो मुख्यतया पूँजीको लागत कम हुनुको साथै संस्थाहरु आफुले गरेको आम्दानी लाभांसको रुपमा नवाडेर ऋणको रुपमा लगानी गर्ने गरेको कारणले सम्भव भएको हो । यद्यपी यहाँको नियमन निकायले कम ब्याजदर भन्दा लघुवित्तको मुख्य उद्देश्य गरीबी घटाउनमा लघुवित्त संस्थाले खेलेको भूमिकालाई वढी महत्व दिने गरेको छ । भियतनामका लघुवित्त संस्थाहहरूले लघुवित्त कार्यक्रमलाई व्यापरको रुपमा लिएा छैनन् अथवा मुनाफामूखी सोच राख्दैनन् । किनभने यहाँ विद्यमान कानून र नियमहरूले लघुवित्तलाई हाल सम्म गैर–सरकारी संस्था (एनजीओ) द्वारा सञ्चालन गरिने सामाजिक गतिविधिको रूपमा परिकल्पना गर्दछ । लघुवित्त सञ्चालकहरुले पनि यसै मान्यतालाई शिरोपर गरेका छन् । 
लघुवित्त वित्तीय संस्थाका पदाधिकारी, प्रमुख कार्यकारी तथा उच्च व्यवस्थापनलाई लक्षित गरी आयोजना गरीएको उक्त भ्रमण टोलीमा विभिन्न चारवटा लघुवित्त वित्तीय संस्थाका ११ जना अधिकारीहरुको सहभागिता रहेको थियो । जसमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष टेकबहादुर बोहरा र प्रवन्ध समिति सदस्य प्रविण भट्टराई, सन्तोष फुयाँल र सञ्जय कुमार श्रेष्ठ, बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतका अध्यक्ष सिंह बहादुर गुरुङ र प्रमुख कार्यकारी अधिकृत विशाल केसि, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड धनुषाका अध्यक्ष श्याम प्रसाद साह, प्रबन्ध समिति सदस्य शिव प्रसाद साह र किशोर साह तथा प्रमुख कार्यकारी अधिकृत सत्य देव राउत,  रोजगार बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंका प्रबन्ध समिति सदस्य कविराज खनाल हुनुहुन्थ्यो ।

 

 

समाचार

सुचना