स्वावलम्बन विकास केन्द्र

उद्यमशीलता विकास र प्रवद्र्धनको लागि ३३ जना शाखा प्रबन्धक प्रशिक्षित

लघुवित्त संस्थाका वढी भन्दा वढी ग्राहक सदस्यहरूलाई उद्यमी बनाई उद्यमशीलता प्रवद्र्धन गर्न तथा लघुवित्तको गरीबी निवारण गर्ने मुख्य लक्ष पुरा गर्न २०७९ भाद्र १३ देखि १७ सम्म शाखा प्रबन्धकहरूका लागि उद्यमशीलता विकास सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।

स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको उक्त पाँच दिने तालिमको अवसरमा उद्यमशीलता विज्ञ तथा तालिमका सहजकर्ता गोकुल प्याकुरेल र राजन केसीले उद्यमशीलताको अवधारणा, महत्व, व्यवसाय छनौटको सही तरिका, बजारमुखी अवधारणा, पहिचान र बजारीकरणको विकास, लघुवित्त संस्थामा ऋण अनुगमन र उद्यमीको सही पहिचान लगायतका विषयमा विस्तृत जानकारी दिनु भएको थियो ।

पाँच दिनको उक्त तालिममा एक दिन लघुवित्तका ग्राहक सदस्यको उद्यम गतिविधिहरूमा केन्द्रित फिल्ड अवलोकन, अध्ययन गरिएको थियोे भने बाँकी ४ दिन सैद्धान्तिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गरिएका थिए । जम्मा २० वटा सत्रहरू समावेश उक्त तालिमको प्रत्येक सत्र ९० मिनेट समयावधिको थियो । कुल २० वटा सत्रहरू मध्ये ३ वटा सत्र फिल्ड तयारी र प्रस्तुतीकरणका लागि र ४ वटा सत्र व्यवसायिक योजना तर्जुमाका लागि छुट्याइएको थियो । बाँकी रहेका १३ वटा सत्रमा परिचय, तालिमको मापदण्ड निर्धारण, सहभागी प्रशिक्षार्थीहरूको अनुभवहरू आदानप्रदान लगायतका गतिविधिहरूकोलागि छुट्याइएको थियो ।

तालिमको विशेष सत्रकोरुपमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तको परिप्रेक्षमा उद्यमशीलता विकासको महत्व, बर्तमान अवस्था र आवश्यकतामा केन्द्रित भएर आफ्ना विचारहरू राख्नु भएको थियो । सो अवसरमा उहाँले लघुवित्त संस्थाहरूले आफ्ना सबै ग्राहक सदस्यलाई उद्यमी बनाएर राष्ट्रलाई नै योगदान गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो । “हरेक लघुवित्त संस्थाले आफ्नो शाखा स्तरबाट समस्याहरू पहिचान गर्ने बेला आएको छ । अब कर्जा मात्रै प्रदान गर्नुको सट्टा आफ्ना सबै ग्राहक सदस्यहरूलाई उद्यमी बनाउन सके अरूका ग्राहक तान्नु पर्ने अवस्था आउँदैन र लघुवित्त विरुद्धको सङ्घर्ष समिति लगायत हाल देखा परेका करीब ९० प्रतिशत समस्याको समाधान हुन्छ । लघुवित्त संस्थाले आफ्नोे ग्राहकहरूको विवरण संकलन गरी उनीहरूलाई कम्तिमा पूर्णकालिन उद्यमी, मध्यम स्तरको उद्यमी, स्टार्टअप उद्यमी अर्थात शुरुवाती उद्यमीमा वर्गीकरण गर्ने र सोही अनुरुप कार्यक्रमहरू ल्याउनु आवश्यक छ । तीस वर्षअघि सम्म नेपालले चामल, गहुँ, तोरी निकासी गर्ने गर्दथ्यो । अहिले हामी अन्नमा परनिर्भर छौँ । हालै भारतले गहुँ निकासी बन्द गर्दा गहुँको पिठोको मूल्य २४ रुपैयाँले बढेको छ । तसर्थ, यो समय लघुवित्तले सदस्यहरूको उद्यमशीलता क्षमताको विकास गरी उत्पादनमा आधारित उद्यमहरूको लागि प्रोत्साहित गर्ने र अन्य देशहरूबाट खाद्यान्नमा आधारित वस्तुहरूको आयातलाई न्यूनीकरण गर्न देशलाई सहयोग गर्ने समय हो । तालिममा सिकेको ज्ञान र सीप प्रत्येक शिक्षार्थीले अर्को पाँच जनालाई र त्यो पाँच जनाले अरू पाँचजनालाई पनि सिकाउनु पर्छ । यो शृङ्खला निरन्तर चल्नुपर्छ यदि त्यसो भए सबै सदस्यहरूमा उद्यमशीलता सम्बन्धी सीप फैलाउन समय लाग्दैन । तपाईंहरूले यसमा नेतृत्वदायी भूमिका खेल्नु पर्छ ।

अहिले लघुवित्तको अर्को ठूलो आवश्यकता भनेको प्राविधिक विशेषज्ञता सहित उद्यमशीलतामा समर्पित नयाँ र उदयीमान पुस्ताको आवश्यकता हो । जसले हालको निर्वाहमुखी गतिविधिहरूलाई व्यावसायिक उद्यमहरूमा रूपान्तरण गर्न सकोस् । ग्राहक सदस्यका छोराछोरीहरूलाई यसको लागि तयार गर्नु पर्ने आवश्यकता रहेको छ ।” श्रेष्ठले भन्नुभयो ।

तालिममा सहभागी शिक्षार्थीहरूलाई उहाँले लघुवित्तका विकृतिबाट टाढै बस्न सुझाव पनि दिनु भयो । “हामीले लघुवित्तको भाखा नाघ्ने सदस्य विरुद्ध कानुनी कारबाहीको अपेक्षा गर्नु हुँदैन । हामीले उद्यमशीलता संस्कृतिलाई प्रवद्र्धन गरी सदस्यलाई सम्पन्न बनाउन सके यस्ता समस्याहरू स्वतः समाधान हुन्छन् । यसकोलागि हामीले दोहोरोपनाबाट बच्नुपर्छ र दोहोरोपना विरुद्ध कारवाहीको नीति लिनु पर्छ । एक असल शाखा प्रबन्धककोरूपमा हामीले ग्राहकहरूलाई नियमित रूपमा भेट्नुपर्छ, भ्रमण तालिका तयार गर्नुपर्छ र तालिकाको नियमित पालना गर्नुपर्छ । हामीले कर्जा लिन र तिर्नको लागि ग्राहकलाई जबरजस्ती गर्ने प्रयास गर्नु हुँदैन । ऋण दिनु अघि ग्राहकको चाहना, आवश्यकता, क्षमता आदिको विश्लेषण गरेर मात्र दिने गर्नु पर्छ ।” श्रेष्ठको सुझाव थियो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले सहभागीहरूलाई सिक्न र सिकेको कुरा फर्केर आफ्नो कार्यस्थलमा लागु गर्न हौसला बढाउनु भयो ।

सोही अवसरमा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले लघुवित्त तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाको क्षमता विकास गर्न केन्द्रले छाता संगठनकोरूपमा काम गर्दै आएको र सहभागीहरूलाई यो सिक्ने अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

तालिम समापनको अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्टले ५ दिने तालिमको कोर्ष वर्तमान समयमा निकै सान्दर्भिक भएको बताउँदै यसले संस्थाको आगामी कार्य सम्पादनमा निकै सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । साथै उहाँले सहभागी शाखा प्रबन्धकहरूलाई तालिमका सिकेको कुरा सिर्जनशील भएर प्रभावकारी योजना सहित कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो ।
कोरोना महामारीको असर लगायत वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखा परेका समस्याहरूको निराकरण गरी रचनात्मक रणनीतिका साथ अघि बढ्न र सोही अनुसार शाखाको क्षमता सुदृढ गर्न सघाउने हेतुले शाखा प्रबन्धकहरूलाई लक्षित गरी तालिमको परिकल्पना गरिएको तालिमका प्रशिक्षक गोकुल प्याकुरेलले जानकारी दिनुभयो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को माग बमोजिम आयोजना गरिएको उक्त तालिममा दुई जना महिला र ३१ जना पुरुष सहित कुल ३३ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिममा सिकेको सीप तथा ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा लागु गर्ने प्रतिवद्धता जनाउदै हरेक सहभागीले आफ्नो शाखाको एक बर्षे उद्यमशीलता विकास कार्य योजना समेत तयार पारेका छन् ।

समाचार

सुचना