स्वावलम्बन विकास केन्द्र

कोरोना महामारी पछि लघुवित्त सेवा प्रभावकारी बनाउन लघुवित्तकर्मीहरुको मार्ग चित्र

कोरोना महामारी पछि लघुवित्त सेवालाई थप प्रभावकारी र गरीब केन्द्रित बनाउँदै अघि बढ्न लघुवित्तकर्मीहरु एकमत भएका छन् । उनीहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउने संगै सदस्यहरुको अवस्था बुझेर अनुशासित सदस्यहरुको व्यवसायमा केन्द्रित हुने रणनीति बनाएका छन् । गरिबी निवारण गर्ने मूल उद्देश्यका साथ लघुवित्त सेवा शुरु भएको हुनाले कोरोना महामारी पछि गरीबहरुको संख्या बढ्ने निश्चित भएपछि लघुवित्तकर्मीहरुले आगामी दिनको लागि स्पस्ट मार्ग चित्र निर्धारण गरीएको छ ।

स्वावलम्बन विकास केन्द्रले २०७७ आषाढ ११ र १२ गतेका दिन वागमती र गण्डकी प्रदेशमा रहेका सदस्य लघुवित्त संस्थाहरु संग जुम अनलाइन भिडीयो छलफल गरेको थियो । सो छलफलको उद्देश्य कोरोना महामारी र लकडाउनका कारण लघुवित्त क्षेत्रमा परेको प्रभावको मुल्यांकन र देखा परेका  समस्या समाधानको उपाय पहिल्याउनु थियो ।

सहभागीहरुका अनुसार तत्कालै ध्यान पुर्याउनु पर्ने विषय भनेको कर्मचारीहरुको भौतिक तथा मनोवैज्ञानिक अवस्था, स्वास्थ्य सुरक्षा, काम गर्ने वातावरण निर्माण, असुली तथा लगानीको अवस्था, घरदैलो सेवा प्रदान गर्न सक्ने वातावरण, स्रोत र श्रमको सदुपयोग, समूह संचालनको संम्भावना लगायत देखिएका छन् । त्यसैले शाखा र कर्मचारीहरुको स्थिति विवरण संकलन र अवस्था अनुसार सदस्यहरुको वर्गीकरण प्रकृया थाल्नु जरुरी महसुस गरिएको छ । यसो गर्दा सेवा पूनः स्थायी र प्रभावकारी हुनेछ ।

सदस्यहरुको सन्दर्भमा पनि कोरोना पछि नयाँ चुनौती र अवसरहरु देखिएका छन् । सहभागीहरुका अनुुसार कोरोना पछि अधिकांश सदस्यहरुको व्यवसाय ठप्प भएर आम्दानी प्रभावित भएको छ । सदस्यको उत्पादनले बजार र उचित मुल्य पाएको छैन । व्याज र किस्ता तिर्न समस्या भएको छ । सदस्यहरुलाई थप लगानी गर्न नयाँ परियोजना शुरु गर्न उर्जा नहुदा संस्थामा तरलताको समस्या देखिएको छ । वैदेशिक रोजगारी प्रभावित भएर रेमिट्यान्स घट्दा गरीबी बढ्ने अवस्था छ । यसले गर्दा लघुवित्त संस्थाहरुलाई सदस्यहरुको वर्गीकरण गरी अगाडि बढ्नु जरुरी छ । वर्गीकरणले असल र खराव सदस्य छुट्याउन सहज हुनेछ । असल सदस्यको व्यवसाय उकास्न आम्दानीको स्थिति हेरि भुक्तानी पुनर्तालिकीकरण गर्न जरुरी छ साथै उनीहरुको क्षमता अनुसार कर्जा उपलब्ध गराउनु पर्ने आवश्यकता ठहर गरिएको छ ।

अब लघुवित्त संस्थाहरु धेरै संस्थाबाट ऋण लिएर ऋणको दुरुपयोग गरेको, ऋण तिर्न नचाहने, कोरोना अघि देखिनै भाका नाघेको र धेरै ठाउँबाट कर्जा लिएर सम्पर्कमा आउन नचाहने सदस्यहरुलाई थप लगानी नगर्न सबै सहभागी सहमत भएका छन् । लकडाउनको समयमा पनि साँवा वा किस्ता दुवै बुझाउने, व्याज मात्र बुझाउने, लकडाउनको कारण व्यवसाय ठप्प भई चाहेर पनि व्याज वा ऋण तिर्न नसकेका अनुशासित सदस्यहरुको हकमा भने संस्था प्रमुखहरु लचिलो नीती अख्तियार गर्ने पक्षमा देखिनु भएको छ । अनुशासित सदस्यहरुको हकमा लघुवित्त संस्थाले समस्याको आधारमा थप लगानी गर्ने, पुनर्तालिकीकरण गर्ने तथा व्यवसाय पुनरुत्थानको योजना ल्याउने सम्मका योजना पनि बनाउने छन् । लघुवित्त संस्थालहरुले आगामी दिनमा सदस्यहरुको उत्पादनको बजारीकरणका लागि आफ्नै संजाल बनाउन पनि सहमत भएका छन् ।

सहभागीहरुले विदेश र शहरबाट लाखौँ युवाहरु गाउँ फर्केको वर्तमान अवस्थामा उनीहरुलाई स्वदेशमै उद्यमशील बनाउने योजना वारे पनि छलफल भएको थियो । गाउँ फर्केका युवालाई समेट्दा एकातर्फ विपे्रषण घटेर अर्थ व्यवस्थामा परेका नकारात्मक असर कम हुने र अर्कातर्फ परनिर्भरता घटाउन सकिने छलफलको निष्कर्ष थियो । यसको लागि लघुवित्तकर्मीहरुले उनीहरु संग भएको सीप, क्षमता, चाहना र पूँजीको विवरण संकलन गरी योजना बनाउने छन् ।

छलफलमा सदस्यहरु संग भएको सीप, ज्ञान र व्यवसाय प्रति नयाँ पुस्ता आकर्षित हुन नसकेकोमा चिन्ता व्यक्त गरीएको थियो । सहभागीहरुका अनुसार युवाहरु विदेश पलायन हुने तर घरमै आमाबुवाले गरी रहेको उद्यम वा व्यवसाय र उपलब्ध सीप एवं प्रविधि नयाँ पुस्ताँमा हस्तान्तरण भएको छैन । यसको लागि कक्षा १० सम्म अध्ययन गरेका सदस्यका छोराछोरीहरुको चाहना, क्षमता तथा दक्षता बुझि उनीहरुसंग नियमित अन्तरक्रिया गर्ने र उनीहरुलाई नयाँ पुस्ताको उद्यमीका रुपमा विकास गर्ने योजना बनेको छ । युवा र नयाँ पुस्तालाई आत्मनिर्भर बनाउन शुरु भए आन्तरिक र अरु मुलुक संगको परनिर्भरता घटदै जाने छलफलको निष्कर्ष छ ।

छलफलले अहिलेको अवस्थामा आक्रामक रुपमा असुली वा कर्जा विस्तार नगर्ने, लघुवित्त क्षेत्रमा हिजो आफ्नै कारणले आएका समस्या र गल्ती सच्याउने, केन्द्रीय कार्यालयबाट कार्य क्षेत्रको स्थलगत भ्रमण गर्ने, सदस्यको उत्पादनलाई बजार व्यवस्थापन गर्न भगिनी संस्थाको रुपमा लघुवित्त संस्थाहरुको संजाल निर्माण गर्ने लगायतका विषयमा पनि सहमति गरेको छ ।

दुई दिन चलेको छलफलमा आषाढ ११ गते छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत चोला राज शर्मा, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडवबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सहायक प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद गौतम, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको सहभागिता रहेको थियो ।

यसै गरी आषाढ १२ गते दोस्रो दिन महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहायक कार्यकारी प्रमुख, नानी शोभा महर्जन, जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्य, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङ्ग, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट कार्यकारी निर्देशक राम प्रसाद काफ्ले, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडबाट  प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने र नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राम बहादुर यादव, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारी र प्रबन्धक संगीता शर्मा पौडेल, आर्थिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रबन्धक ठाकुरनाथ अधिकारीको सहभागीता थियो । यसै गरी आयोजक स्वावलम्बन विकास केन्दका अध्यक्ष शंकर मान श्रेष्ठ, कार्यकारी प्रमुख बेचन गिरी, निर्देशक सतिश कुमार श्रेष्ठ, तालिम अधिकृत रेणु प्रजापती र सुचना तथा संञ्चार अधिकृत चन्द्रकान्त पण्डितको पनि सहभागिता थियो ।

समाचार

सुचना